बेल्टार/साउन १३। विभिन्न मुद्धामा फरार भएका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ४९ वर्षीय हरिमान कटवाल, वडा नंं. ९ की ३८ वर्षीया रमा कोइराला, ४ नं. वडा बसाहाकी ४७ वर्षीया जोगमाया राई र ८ नं. वडा सिद्धिपुरका ४१ वषीय विजय थुलुङलाई विशेष सूचनाको आधारमा प्रहरीले प्रक्राउ गरेको हो ।
हरिमान र रमालाई बहुविवाहको आरोपमा ०७७ बैसाख ११ गते मुद्धा दर्ता भएको थियो ।
बहु विवाहमा मुद्धा दर्ता पश्चात फरार रहेका कटवाल र कोइरालालाई लुकीछिपी बसिरहेको स्थान काठमाण्डौको थानकोटबाट इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले गत ८ गते पक्राउ गरेको हो ।
जिल्ला अदालत उदयपुरको आदेश अनुसार हरिमानलाई पूर्पक्षको लागि कारगार चलान भएका छन् भने रमा ५५ हजार रुपैयाँ धरौटी बुझाई तारेखमा छुटेको प्रहरीले जनाएको छ । कटवाल ७ नं. वडाका जननिर्वाचित वडा सदस्यसमेत हुन् ।
त्यसैगरी नेपाली नागरिक्ता किर्ते प्रमाण–पत्र बनाई प्रचलनमा ल्याएको मुद्धामा पक्राउ परेकी बसाहाकी जोगमायालाई पनि आफ्नै घरबाट प्रहरी चौकी बसाहाले गत १० गते पक्राउ गरेको थियो । राईले २० हजार रुपैयाँ धरौटी अदालतमा बुझाई तारेखमा छुटेकी छन् ।
त्यस्तै जबरजस्ति करणी मुद्धामा ०७३ माघ १८ गतेदेखि फरार प्रतिवादीको रुपमा रहेका थुलुङलाई पनि आफ्नै घरबाट इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत उदयपुरले माग गरेको ५० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा प्रतिवादी थुलुङलाई पनि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।