बेल्टार/ वैशाख १५। उदयपुरको चौदण्डीगढी–२ माडिवासमा स्थित अस्थायी प्रहरी विटमा शनिबार विहान स्थानयवासी र प्रहरीबीच अन्तरक्रिया भएको छ ।
समुदाय–प्रहरी साझेदारी, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत स्थानीयवासी र प्रहरीबीचको अन्तरक्रिया भएको हो ।
गत चैत २१ गते अस्थायी प्रहरी विट स्थानपना भएपश्चात गाउँघर, टोल तथा छरछिमेकमा के कस्तो शान्ति सुरक्षा महसुश भएको छ ? सो विषयमा स्थानीयले आफ्नो अनुभवहरु राखेका थिए ।
प्रहरी र आम सर्वसाधारण नागरिकबीचको सम्वन्धलाई मजवुद बनाउँ कार्यक्रमको मुख्य उदेश्य रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनको भनाइ थियो ।
प्रहरीको काम गराई र नागरिकको बुझाई स्पष्ट हुन जरुरी भएको बताउँदै निरीक्षक पुनले यहाँहरुको अमनचयन, शान्ति सुरक्षा गर्नु नै हाम्रो मुख्य .उदेश्य हो । निरीक्षक पुनले भने, ‘हाम्रो काम गराई तपाईहरुलाई सन्तोषजनक छ की छैन, यदी हाम्रो काम गराई सन्तोषजनक छैन भने अब हामीले के गर्नु पर्छ, के गर्दा उपयुक्त हुन्छ ? भन्ने विषय नै गहन कुरा हो ।’
विना बर्दीको प्रहरी र वर्दीवाला प्रहरी मिले यहाँ हुने अनेकौ विकृति, विसंगतीहरु हटाउन सकिने उनको कथन थियो ।
अन्तरक्रियामा चार वटै टोल सुधार समितिका अध्यक्षहरु अमरबहादुर राई, दिलबहादुर मगर, सोमराज खड्का र जगतबहादुर खड्काको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साँगुरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तिलक राई, समाजसेवीहरु बुद्धराज सुवेदी, टिकासरी राई सन्तोष सुवेदी लगायतले स्थानीय स्तरमा हुने विकृतिहरुको न्यूनीकरणका उपायहरु सुझाएका थिए ।