‘जिउनी’
–वसन्त राई,
छोराहरु हुर्केपछि बुहारीहरुको गृह प्रवेशसंगै आमा–वुवा दुईजनामात्र हुँदा गन्थन मन्थनमा समेटिने एउटा मुख्य वाक्य भनेको “अब छोरा छोरीहरुको घरजम भईसक्यो, हामीमा अलिकती जाँगर भएको बेलानै पञ्च समाज राखेर अंशवण्डा गरिदिन पाए सबै आ–आफ्नो कर्म गरिखान्थे” ।

त्यसपछि आन्तरीक छलफल शुरुहुन्छ, घर माथीको बारी जेठोलाई, पल्लो कित्ता माईलोलाई, घरबारी चाही कान्छोलाई होस् अनि तल्लो बारी हामी जिउनी राखम है फलानाको वुवा ? सासु–वुहारी बीचको नदेखिने जुहारी र जेठानी–देउरानी बीचको प्रतिस्पर्धासंगै शुरु हुन्छ दाजु–भाई बीचको पारिवारिक छलफलमा गिरावट ।

आमाको वुहारी माथी गुनासो त छदैछ त्यो गुनासोको बारेमा सोच्न नपाउदै श्रीमतिको धम्किपूर्ण आदेशको सामना गर्नु पर्छ छोरा खलकले । यही विवशताबाट शुरु हुन्छ अंशवण्डादेखी जिउनीसम्मको महाभारत ।

हाम्रो पुर्वेली समाजको चलन पनि बडो अनौठो छ । सन्तानलाई नौ महिना कोखमा बोकेर पैदा गर्नेदेखी लिएर शिक्षादिक्षा अनि छोरा छोरीहरुलाई मिल्दो–सुहाउदो वुहारी र ज्वाईको रीत सकेपछि शुरु हुने अन्तरमन भित्रको चिन्ता भनेको सासुको “यो वुहारी त फलाना गाऊको हो त्यो गाऊको वुहारीलाई त कज्याउन मुस्किल हुन्छ रे भनेर सुनेको थिए”, वुहारीको “आफ्नो घरमा त इच्छा हुँदा मात्र काम गर्ने आफु सासु ससुरालाई सेवा गरेर खुशी बनाउन सकिन्छ की सकिन्न”…………. आदि

सामाजिक मुल्य र मान्यता, प्रकृतिको नियम, सर्वमान्य धारणालाई मान्ने हो भने यस धर्तीमा जन्म दिने आमा वुवा भनेको वास्तविक भगवान् नै हुन्, र त्यसपछिको ठुलो छोरा अर्थात जिम्मेवारी र वुद्धिमताको आधारमा परिवार भित्रको अभिभावक जेठो नै हो ।

यो प्रणालीलाई स्वीकार्य सकेमा “म फलानो खानदानीमा जन्मेको शिक्षीत केटीलाई कालो अक्षर भैरी बराबरको सासु आमा भनाउदोले पाठ सिकाउने”………जस्ता सासुमाथी प्रहार हुने वाक्य अनि “आठ कक्षा फेल जेठाले म जस्तो क्याम्पस पढ्नेलाई यसो नगर उसो नगर भनेर सम्झाउने” जस्ता दाईमाथी बोलिने वाक्यहरु सुन्न पर्दैनथ्यो जुन आफैमा घातक र अहम्पूर्ण छन् ।

वास्तविकतालाई मनन् गर्ने हो भने, त्यही शिक्षित वुहारीलाई (ह्याण्डसम) लागेको छोराको लालन पालन गर्न परिस्थीतिले धकेलेपछि नै सासु आमा निरक्षर बन्नु भएको हो । र वुवा पछिको जिम्मेवारी काँधमा आईपर्दा भाई वहिनीहरुको उज्ज्वल भविष्यको लागि सानो उमेरमा खाडी मुलुक लाग्नु पर्दा जेठोले आठ कक्षा सम्म मात्र पढ्न पाएको हो ।

पञ्च समाज भेलाको दिन दाजुभाई बीचको असन्तुष्टी त छदैछ त्यो असन्तुष्टीको आगोमा घ्यू थपेर छलफललाई ठेलामठेल, धक्काधक्की र अन्त्यमा मुक्कामुक्कीसम्म पु¥याउँनमा मदत गर्नेहरु भनेको घर परिवार भित्रकै केही सदस्य र खुरापाती छिकेमी हुन्छन् । अनि वर्षौसम्मलाई वोलीचाली र आवतजावत बन्द हुन्छ दाजुभाई बीच ।

टट्काडो छलफल भनेको आफुले भनेको बारी पाएन, आमा वुवाको जिउनी धेरै भयो, फलाना भाईको भागमा मात्र राम्रो जग्गा प¥यो आदि । अनि मेलापात र पंधेरीमा खासखुस हल्ला शुरु हुन्छ, “फलानाको परिवारमा त कस्तो सन्तान जन्मेछन् आफुलाई जन्म दिने आमा बाउको जिउनीमा पनि आँखा गाँड्ने, फलाना परिवारको अंशवण्डा हुँदा त झगडानै भएन रे कस्तो वुझाकी छोराहरु, छोराहरु भनेको त तेस्तो पो हो त, हाम्रोहरुको परार साल अंशवण्डा भएको थियो, अहिलेसम्म वोलचाल छैन दाजुभाई बीचको” आदि ।

पारिवारीक कथाको वहाव संगै आमा वुबाको नाती नातिना खेलाउने रहर पुरा गर्दै छोरा वुहारी पनि अभिभावक वने पछि बालबालिकाहरुले तोतेबोलीको अलावा सबै कुरा सिक्ने भनेको सधै समय बिताउने हजुरबा हजुरआमा बाटै हो ।

तर, ख्याल ठट्टा गर्दै हजुरबाले “काँधमा लौरी ध (राई वान्तवा भाषामा अश्लिल शव्द)” भनेर गलत शव्द सिकाउँनु हुन्छ, जुन कुरा सरासर गलत हो, र हामीले यो कुरा आमा वुवालाई मनन् गराउनलाई अप्ठारो मान्नु हुन्न किन की कलिलो मुनालाई शुद्ध पानीले सिंचाई गर्न सके मात्र फल राम्रो पाउने त हो ।

नावालक को के दोष छ, अन्तरजात्तीय विवाहको बारेमा र “आमाको वैनी सानीमा, हाम्रो त वुहारी पानीमा (अन्तरजाती)” भनेर कविता सुनाउँनु, हामीले त बिश्वमा मानिस जम्मा तीन प्रजातिको छौ, त्यो हो आर्यन, मंगोल, नेग्रो तर प्रजाती मात्र फरक हो सबै मानिस एउटै हो, भनेर सिकाउनु पर्ने होइन र ?

सिंगो परिवार अंशवण्डा पछि चारपाँच परिवारमा विस्तार भएसंगै केही वर्षको अन्तरपछि विस्तारै दाजुभाई बीचको मेलमिलाप त शुरु हुन्छ । तर, सवै दाजुभाई अलग अलग स्थानमा स्थापीत भए पछिको अर्को अकल्पणीय विवाद र गुनासो गुञ्जन थाल्छ त्यो हो बृद्धा वुवा आमालाई उपचार तथा सेवा सत्कार ।

सामथ्र्य र पहुँचको आधारमा जस्ले जिम्मेवारी उठाए पनि भगवानको पुजा गर्नु सरह पुण्य काममा “पौरख खाने बेला सम्म कान्छा कान्छी संग बसे, जिउनी पनि उतै, अब बसि बसि खानु दिनु पर्ने, उपचार र सेवा चाहि हामीले गर्नु पर्ने” जस्तो तुच्छ र अकल्पणीय शव्द्धवाण टोल छिमेक हुदै आमा वुवाको कानमा पर्दा उहाँहरुको मनमा छल्किने असह्य पिडाको मुल कारण हामी मानवरुपी अनौठो जीव नै हौ ।

यसमा समेटिएको सारा सन्दर्भ वर्तमान परिवेश र आगामी एक दशक सम्मको लागि सान्दर्भिक हुने शिर्षक हो, किन की हालको अवस्थामा माइलो, साईलो, काइलो जस्ता पदहरु लोपोन्मुख अवस्थामा पुगेको कारण अब परिवारमा बढीमा जेठो छोरा र ठुली छोरी मात्र पैदा हुन्छन् ।

जब घरमा एक जना मात्र वुहारी भित्रिन्छ त्यसपछि त सवै मुद्धाहरु अटो–सल्भ हुन्छन् किन की जेठी वुहारीले माइली वुहारीसंग प्रतिस्पर्धा गर्नु पर्दैन, सासुले अर्को वुहारीसंग तुलना गर्नु पर्दैन ।

अहिलेको माईलो, साईलो देखी अन्तरे सम्मले माथी समेटिएको कथालाई परिवारको रंगमञ्चमा मञ्चन हुन नदिन के गर्ने त ? मुख्यतया आदर्श र विश्वासको धरोहर भनेको वुबा पछिको दाई हो, आमा पछिको भाउजु हो उक्त कुरा मनन् गर्न र गराउन सक्नु पर्छ ।

भाउजु आवेगमा आएर “फलाना देवार ले क्याम्पस पढे पनि के नै गरेको छ र मैले चाहे भने लाखौको कारोवार एकै छिनमा गर्न सक्छु” भन्ने कुरा अरुले खुसुक्क सुनाए पनि अभिभावक हो कहिले काही त बचन सहनु पर्छ भन्ने सोच राख्नु प¥यो । सम्बन्धलाई नाफा–घाटा, पद–प्रतिष्ठा, शिक्षासंग तुलना गर्नु समस्याको रोडलाई थप चौडा गर्नु हो भन्ने सत्यलाई विस्तार गर्नु प¥यो ।

वुवाको अंश र ससुरालीको दाइजो अस्थायी हो, स्थायी भनेको भाईचारा, ज्ञान र दक्षता हो भन्ने अठोट राख्नु प¥यो । छोरा वुहारीहरु बीचको आपसी भाईचारा र सदभाव भन्दा ठुलो जिउनी संसारमा केही होइन भन्ने कुरा आमा वुवालाई मनन् गर्न गराउन सक्नु प¥यो ।

भाउजु–वुहारीहरु पनि भविष्यको सासु नै हुन त्यसैले श्रीमानको घरमा सदस्य बनेर भित्रे पछि सासुलाई आमाको दर्जा दिएर आत्मसाम्मान साथ वुहारीको भुमिका निभाउदै पर्सिको लागी पुण्य कमाउन अनुरोध गर्नु प¥यो । वुवाहरुलाई नाति नातिनाको लागी आदर्शको पात्र र पैत्रिक ज्ञानको श्रोत वन्नलाई विन्ती गर्नु प¥यो ।

पूर्वि–पहाडी भेगमा बाल्यकाल देखी सुन्दै आएको, हेर्दै आएको किस्साहरु समेटेर लेखिएको यस लेख कुनै व्यक्ति विशेष र घट्नाबाट अभिपे्ररित होइन र नियोजित होईन भन्ने स्पष्टीकरण सहित सारा पाठकलाई विशेष अनुरोध, सकारात्मक सोच नै मेलमिलाप र भाईचाराको मुहान हो, त्यसैले यस धरतीमा पैदा गर्ने महान आमा वुवाहरुको इच्छा बमोजिम छुट्याईएको “जिउनी” लाई पवित्र पुजा स्थल मानौ उहाँहरूकाे  इच्छा पुरा गर्नु मन्दिरमा गरिने पूजा भन्दा हजार गुणा बढी पुण्य हो भन्ने कुरा लाई आत्मसाथ गरौ ।

अन्त्यमा, निष्ठा, ज्ञान र चेतना लाई साक्षी राखी जीवन मा वुवाको सम्पत्तिबाट अंश र ससुरालीबाट दाईजो नलिने घोषणा गरौ ।

–चाैदणडीगढी नगरपालिका ४, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *