ललित राई,
बेलका/चैत्र ३१। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको बेलका नगर कमिटी मंगलबार गठन भएको छ ।
आदिवासी जनजाति महासंघको सभाहल रामपुरमा आयोजित कार्यक्रममा अनिल नेपालको संयोजकत्वमा ३२ सदस्यीय नगर समिति गठन भएको हो ।
वाईसिएल नेपालको केन्द्रीय सचिव एबिराज राईको प्रमुख आतिथ्यमा भएको भेलालाई संवोधन गर्दै प्रमुख अतिथी राईले सबैखाले अतिवादका बिरुद्ध वाईसिएल नेपाल गठन भएको र पार्टीलाई संकट परेको समयमा जस्तोसुकै परिस्थीतीमा पनि वाईसिएल पछाडी नहट्ने बताए ।
केन्द्रीय सचिव राईले देश नै अब वाईसिएलमय बन्दै गएको समेत उनले दावी गरे । वाईसिएलका जिल्ला अध्यक्ष ज्ञानेन्द्र मगरले सबै युवाहरु अब प्रतिक्रान्तिकारीका बिरुद्ध लाग्नुपर्ने बताए ।
जिल्ला ईन्चार्ज दिपक किरातीले माओवादी आन्दोलनका उपलब्धीहरुलाई रक्षा गर्न सबै युवा जुट्नु पर्ने बताए । त्यसैगरी नगर पार्टी अध्यक्ष मनोज तामाङले बाघ भएर पनि केही साथीहरु भेडाको बथानमा भेडा झै कराउदै हिडेकाले आफ्नो वर्ग र समूदायलाई भुलेको बताउदै अन्ततः उनीहरुले आफूलाई चिन्नु पर्ने तर्क गरे ।
जिल्ला सचिवालय सदस्य राकेस किरातीले अरुले पिठो बेचिरहे पनि माओवादीले आफ्नो वास्मती चामल पनि बेच्न नसकिरहेको बताए । स्थानीय नेता रमन भट्टराईले वारपारको स्थिति बनाउन अन्ततः पार्टी चुनावमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
नगर पार्टी प्रवक्ता ललित राईले वाईसिएल नेपाललाई पुर्ववत स्वरुपमा फर्काउनु पर्ने र सबैखाले अन्याय र बेथितीको बिरुद्ध जाईंलाग्ने गरी कार्यक्रम बनाउन नगर समितीलाई सुझाएका छन् ।
नगर समितिका पदाधिकारीहरुलाई केन्द्रीय सचिव तथा प्रमुख अतिथी राईले सफथ ग्रहण गराएका छन् ।
यथासक्दो चाडै नै वडा समितिहरु गठनसंगै संगठन बिस्तार गरिने संयोजक नेपालले प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा युवा नेता भोजराज राई (आकास) को स्वागत मन्तव्यबाट कार्यक्रम शुरु भएको थियो ।