बेल्टार/साउन ६। चौदण्ढीगढी नगरपालिका वडा नं. ३ भोर्लेनीका एक समाजसेवीको निधन भएको छ ।
९४ वर्षीय समाजसेवी भक्तबहादुर राईको आज (बुधबार) आफ्नै निवासमा निधन भएको हो । विक्रम संवत १९८५ साल पुस १८ गते खोटाङको वाप्लुखामा जन्मेका राई पूर्व मन्त्री नारदमुनी थुलुङका समकालिन थिए ।
स्व. थुलुङसँग मिलेर बसाहा झोडालाई व्यवस्थित गर्न उनको समेत योगदान रहेको स्थानीयहरुले बताएका छन् ।
उनी लामोसमयसम्म बेलायती सेनामा भर्ती भइ ३० वर्षदेखि स्थायीरुपमा बसाहाको भोर्लेनीमा बसोवास गर्दै आएका थिए ।
सेनाबाट अवकाशपछि स्थानीय आमसाल माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत भइसकेका थिए ।
उच्च रक्तचापका कारण निधन भएका समाजसेवी राईको बुधबार नै अन्त्योष्टि गरिएको छ भने उनको श्रीमती र छोराछोरी छन् ।
आइतबारमात्र सोही स्थानका किरात राई यायोक्खा नगर समितिका सदस्य ४६ वर्षीय अनुपराज राईकोसमेत उच्च रक्तचापका कारण निधन भएको छ ।
त्यस्तै २ नं. वडा चारघरेका ४६ वर्षीय सुरेशकुमार सुनुवारको पनि मंगलबार दिउसो निधन भएको छ । उनी नेकपा एमालेका कार्यकर्ता थिए ।