दिपेन्द्र वान्तावा,
बेल्टार/माघ १९। प्रधानमन्त्री केपी ओली शर्माको असंवैधानिक तथा प्रतिगमन कदम विरुद्ध सदरमुकाम गाईघाटमा सोमबार बृहत्त विरोध प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस निकट विभिन्न भातृ संगठनहरुको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपश्चात प्रमुख प्रतिक्ष दल कांग्रेससहित विभिन्न राजनीतिक दलहरुले असंवैधानिक तथा अलोकतान्त्रिक कदमको विरोध गर्दै आएका छन् ।
पार्टीको गत १३ गते बसेको केन्द्रीय कार्य समितिको निर्णय अनुसार ७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम रहेको उदयपुर क्षत्र नं. १ का क्षत्रीय सदस्य तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।
गाईघाटको पिपलबोटमा आयोजित कार्यक्रममा जिल्ला सभापति विदुर बस्नेतले संविधानमा नभएको व्यवस्था लागू गरेर केपी शर्मा ओलीले सर्वसत्तावाद लाद्न खोजेको बताए ।
नेपाली नागरिकले प्राप्त गरेको संघीय लोकतन्त्रिक गणतन्त्रको संविधानलाई च्यात्न कुचेष्टा गरेको पनि आरोप लगाए । तर, नेपाली कांग्रेस नागरिकको हकअधिकारहरु रक्षा गर्नको लागि सधै तयार रहको बताए ।
कार्यक्रममा पूर्व सांसद लक्ष्मि परियार र भोगेन्द्र चौधरीले पनि कोणसभालाई सम्वोधन गरेका थिए ।
विरोधसभामा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, आदिवासी जनजाति संघ, नेपाल किसान संघ, नेपाल मुस्लिम संघ, नेपाल दलित संघ लगायत विभिन्न भातृ संस्थाहरुको सहभागीता रहेको थियो ।