ह्वीलचियर प्रयोगकर्तामा आएको खुशी
‘समावेशितामा एकता’ भन्ने नाराका साथ १२औँ अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस मार्च १ को सन्दर्भमा पोखराका ह्वीलचियर प्रयोगकर्ताले डुङ्गा सयर गर्दै बाराही मन्दिरको दर्शन गरेका छन् ।
स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले फेवाकिनार र बाराही मन्दिर जाने बाटोमा अपाङ्गतामैत्री संरचनाको निर्माण गरेपछि ह्वीलचियर प्रयोगकर्ताले फेवाताल घुम्ने र मन्दिर दर्शन गर्ने अवसर पाएका हुन् । पोखरा गणेशटोलकी ४८ वर्षीय ह्वीलचियर प्रयोगकर्ता रीना पालिखेले पहिलोपल्ट बाराही मन्दिरको दर्शन गर्न पाउँदा निकै आनन्द र शान्ति अनुभूति गरेको बताउनुभयो ।
“म पोखरमा जन्मेहुर्के तर ह्वीलचियर प्रयोग गर्नुपर्ने भएकाले फेवाताल डुङ्गा चढे पनि मन्दिरमा नै आएर दर्शन गर्न पाएको थिइनँ”, उहाँले भन्नुभयो “एक÷दुईचोटी तालतिरबाटै दर्शन गरे अहिले अपाङ्गतामैत्री बाटो बनेपछि भने आज प्रत्यक्ष यही आएर दर्शन गर्ने अवसर मिल्यो ।”
पोखरा पस्याङ्की ह्वीलचियर प्रयोगकर्ता ३५ वर्षीय गङ्गा गुरुङ पनि पहिलोपल्ट बाराही मन्दिरको दर्शन गर्न पाएको निकै खुशी भएको बताउनुभयो । “म पहिलोपल्ट आएको आज निकै रमाइलो भएको छ । सबै जनाले दर्शन गर्न पायाँै, कति राम्रो रहेछ ।”
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बाराही मन्दिर आउने अपाङ्गतामैत्री संरचना निर्माण गर्न निकै कसरत गर्नुपरेको बताउनुभयो । “निकै लामो समयदेखि ¥याम्प निर्माणमा जुटेका थियौँ, बल्ल त्यो पूरा भएको छ ।”
उहाँले अष्ट्रेलियन दूतावासको सहयोगमा रु छ लाख ५० हजार आर्थिक सहयोगबाट फेवाकिनारमा आल्मुनियम र फलामको ¥याम्प र डुङ्गाबाट झरेर बाराही मन्दिर जाने ठाउँमा अपाङ्गमैत्री स्लोप राखेर ह्वीलचियर लाने मिल्ने संरचनाको निर्माण गरिएको जानकारी दिनुभयो । गुरुङले बाराहीघाटदेखि हल्लनचोकसम्म र बीचमा पनि स्लोप राखिएको र अब ह्वीलचियर प्रयोगकर्ता फेवाकिनारमा आनन्दले घुम्ने र दृश्यावलोकन गर्न पाउने बताउनुभयो ।
अहिले महानगरले अपाङ्गतामैत्री फुटपाथ भनेर बनाइरहेको फुटपाथ पूर्णरूपमा अपाङ्गतामैत्री नभएको उहाँको भनाइ छ । “न्यून दृष्टि भएका व्यक्तिका लागि बीचमा पोल छन् भने ह्वीलचियर प्रयोगकर्ताका लागि सन्तुलन नभएका फुटपाथ निर्माण गरिएको छ ।” उहाँले सम्बन्धित निकायलाई यस विषयमा पटक–पटक जानकारी गराए पनि सम्बन्धित निकायले नसुनेको गुनासो गर्नुभयो । अपाङ्गतामैत्री भौतिक संरचना सञ्चार निर्देशिका २०६९ मा सबै कुरा उल्लेख गरे पनि नीतिनिर्माता, कार्यान्वयनकर्ताले यस विषयमा बेवास्ता गरेको उहाँको भनाइ छ ।
केन्द्रका महासचिव अञ्जना केसीले अपाङगतामैत्री संरचनाको अभावले मठमन्दिरको दर्शन गर्नबाट ह्वीलचियर प्रयोगकर्ता बञ्जित रहँदै आएको बताउनुभयो । “पोखराको धेरै ठाउँमा यो समस्या छ । अहिले फेवाताल किनार बाराही मन्दिर परिसरमा निर्माण यस संरचनाले देशभित्र र बाहिरबाट आएका ह्वीलचियर प्रयोगकर्तालाई केही मात्रामा सहज हुनेछ”, उहाँले अपाङ्गता भएका व्यक्तिप्रतिको सकारात्मक सोचको विकास नभएसम्म अझै संरचना बन्न नसक्ने बताउनुभयो । उहाँले केन्द्रको प्रयासमा बाराही मन्दिर दर्शन गर्ने मिल्ने संरचना तयार भएको बताउनुभयो ।
साथी संसारका प्रबन्ध निर्देशक नारायण अधिकारीले विभिन्न अवस्था र समस्यामा रहेका ह्वीलचियर प्रयोगकर्तालाई यस किसिमको कार्यक्रमले ताजगी बनाएको बताउनुभयो । अपाङ्गतामैत्री संरचना बनाउन ठूलो लगानीभन्दा पनि सकारात्मक सोच सानो प्रयासबाट पनि सम्भव हुने उहाँको भनाइ थियो ।
मन्दिर दर्शन कार्यक्रम २५ ह्वीलचियर प्रयोगकर्ता र उनीहरुका अभिभावकको उपस्थिति थियो । उनीहरुबीच अनुभव आदान–प्रदान गरिएको थियो । मार्च १ मा अन्तर्राष्ट्रिय ह्वीलचियर प्रयोगकर्ता दिवस मनाइन्छ । सोही सन्दर्भमा विभिन्न कार्यक्रम गरिएको केन्द्रका महासचिव केसीले जानकारी दिनुभयो ।