स्वर्गको जनादेश र पितृसत्ता
स्वर्गको जनादेश वा आकाशवाणी भएको त्यस्तो कुनै हुकुमको आधारमा समाज चलेको नभई इकाई र संरचनात्मक सहमति बाट निर्मित सामाजिक व्यवस्था बाट चलाईएको हो । प्राकृतिक महत्वको विषयलाई समाजले अर्थ निर्माण गरेर समाज चलेको देखिन्छ तर समाजको लामो प्रयोग र अभ्यासका कारण यो वास्तवमा सामाजिक नभई प्राकृतिक हो जस्तो बनाइएको छ ।
व्यक्तिगत र सामाजिक जीवन जिउनकालागि तथ्य र कारण सहितको संस्कृति र सामाजिकिकरणको अभ्यासको निर्माण, विनिर्माण र पुनःनिर्माण भई मानिदै गरेको केही परंपरा अन्धविश्वासमा परिणत भएको देखिन्छ । यस्तै यस्तै सामाजिक व्यवस्थाको निर्मित आकार, पुन:आकार, अर्थको निर्माण, विनिर्माण र पुन:निर्माणले समाजलाई अझ जटिलतामा धकेलिदैछ । जसका कारणले हरेक विषय र क्षेत्रमा असमानताका मुद्दाहरू बढिरहेको पाउन सकिन्छ ।
हिजोका दिनमा हिन्दु समुदायमा मात्र सिमित रहेको केही परंपरा आज नेपाली समाजको साझा बनिरहेको पाउन सकिन्छ । यो एकताको अवसर मात्र नभई असमानताको संकेत पनि हो । नेपाली समाजमा धार्मिक अभ्यास र परंपराको नाममा श्रावण महिनालाई बोकाइएको अर्थ र महत्वले ऐ समाजमा नारी सशक्तीकरणको मुद्दा अझ कमजोर बनिरहेको मात्र नभई अझ बढी असमानताको पिडा बढदै गरेको पाउन सकिन्छ । सामाजिक न्याय र असमानताका विषय मुद्दाहरूलाई राजनीतिकरण गर्नु पर्नेमा धार्मिकिकरण, सांस्कृतिकरण, प्राकृतिकरण गर्नाले असमानताको जटिलता अझ बढेर जादैछ ।
नारी न्याय र सशक्तीकरणको विषय र मुद्दालाई पितृसत्तासंस्था र त्यसका एजेन्ट राज्य र संगठनहरूले गरेको गैरराजनीतिकरणका विषयमा भारतकी नारीवादी समाजशास्त्री सरिलता बाटलिवालाले उठान गर्नु भएको ऐ विषयले बोकेको यथार्थ मर्म र भावना झलझली देख्दा समतामुलक समाज निर्माणमा हजारौं हजार वर्षलाग्ने देख्न सकिन्छ ।
नेपाली समाज र त्यसमा पनि महिला विशेषले मानिआएको श्रावण महिना देवादिदेवले आकाशवाणी बाट मान्नै पर्छ भनेर पठाएको स्वर्गको जनादेश नै हो त ? त्यसको कुनै प्रमाण छैन तर दक्षिण एसियाका केही मुलुक र नेपाली समाजले महादेवलाई अत्यन्त महत्व र अर्थ दिएको अास्था र विश्वास भने पाउन सकिन्छ । ऐ परंपरा मान्दै गर्दाको केही अवसर पनि छ नकार्न सकिन्न तर ऐ ले महिलाहरूमा ल्याएको चुनौती, असमानता, अन्याय, सिमान्तिकरण र पिछडापनाको महत्वपूर्ण विषय पनि रहेको कुरा नजरअन्दाज गर्न मिल्दैन ।
श्रावण महिना र महादेव प्रतिको पवित्र आस्था र विश्वासका साथ जसरी परंपरामा सहभागी भईएको छ त्यसरी र त्यही उर्जा र विश्वासका साथ सामाजिक न्यायकालागि घोषित अघोषित रूपमा संगठित भई अभ्यासमा उत्रिन सके विश्वसमाजलाई असमानता र जटिलतामा धकेल्ने क्रिष्चियन पितृसत्ता, मुस्लिम पितृसत्ता र हिन्दु पितृसत्ता लगायतलाई न्यायको कठघरामा उभ्याएर दोषी साबित गरि क्षतिपूर्ति वसुल गर्न सकिन्थ्यो होला सायद ।
विश्व सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने पितृसत्तासंस्था देवादिदेव महादे, अल्लाह र जिजसको स्वर्गको जनादेश र आकाशवाणीको कार्यपालिकाको अंग हुदै होईन ! र विश्वसमाजले भोगिरहेको विविध असमानता प्राकृतिक पनि होइन । यो नियोजित र निर्मीत हो । यस्ता अन्यायका संवेदनशील मुद्दा र विषयमा अन्धविश्वासी नबनौं ।
गौतमबुद्धले जसरी सामाजिक असमानता घटाउन, प्रेम र करूणा स्थापित गर्न शान्तिदुतको भूमिकामा कर्म गर्नु भयो त्यसरी नै विश्व समाजलाई न्यायिक र समतामूलक बनाउन देवादिदेव महादेव, जिजस र अल्लाहले मानव समाजमा प्रत्यक्ष भूमिकामा आउन सक्नु पर्दछ र तिमीहरू प्रतिको यतिका वर्ष सम्म राखेको पवित्र विश्वासलाई वास्तविकतामा परिणत गर्न आग्रह गर्दछु ।
भुवनमान श्रेष्ठ चौदणणडीगढी नगरपालिका, उदयपुर