राजनीतिमा युवा नेतृत्व

–चिरञ्जीवी नेपाल,

संसारका विकसित र सफल मुलुकलाई हेर्ने हो, भने ती मुलुकका हरेक क्षेत्रमा युवाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । नेपालको राजनीतिक वृत्तमा भने युवाको उपस्थिति र उनीहरूको गुणस्तरको दृष्टिकोणबाट असाध्यै निराशापूर्ण छ ।

एकातिर राजनीतिक दल खुला छैनन् भने अर्कोतिर दलीय संरचना निर्माणका लागि हस्तक्षेप गर्न सक्ने युवाको पनि कमी छ । राजनीतिक दल खुला हुँदा योग्य युवा उदाउने, नेतृत्वमा पुग्ने र अक्षमहरूलाई बिस्थापित गर्ने बाटो खुल्छ । तर, आजको शीर्ष नेतृत्व यो जोखिम लिन तयार छैन ।

यति मात्र होइन, पार्टीमा स्थापित युवा समूह पनि यसका लागि तयार भएको देखिदैन । नेपालमा युवाले सहजै राजनीतिक नेतृत्व पाउँदैनन् । नेपाली समाजमा ‘युवाहरू नेतृत्व गर्न सक्दैनन्, अनुभवको हुँदैन, अल्लारे हुन्छन्, भन्ने भाष्य लामो समयदेखि स्थापित छ ।

अझ युवाले भविष्यको परिकल्पना गर्ने क्षमता राख्दैनन् भन्दै राजनीतिमा सक्षम युवालाई पनि नेतृत्वदायी भूमिका दिन हिच्किचाइन्छ । तर, फिनल्यान्डकी ३४ वर्षीया सना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् ।

फिनल्याण्डका जनताले उनलाई अपरिपक्त नेतृत्व मानेनन् त ! नेपालका राजनीतिक युवा नेतृत्वबारे भाषण गर्दा सना मरिनको उदाहरण दिने गरिन्छ । तर, त्यस्ता युवालाई राजनीतिक पार्टीको सत्ता र सरकारमा सहभागी भने कहिल्यै गरिन्न ।

अर्थात युवा र महिलालाई राजनीतिक नेतृत्वमा पुयाउने विषयमा छलफल र विमर्श समेत हुँदैन । यद्यपि, युवा दिर्घकालीनरूपमा देशको भविष्यको खाका कोर्ने समूह हो । तर,नेपालका युवा र महिला राजनीतिक नेतृत्वमा नपुग्दासम्म देशको दिर्घकालीन भविष्यको खाका बन्ने सम्भावना कम रहन्छ ।

यसका लागि राज्यसत्ताको नेतृत्व गर्ने राजनीतिक दलको संगठनात्मक संरचनामा युवाको सशक्त प्रतिनिधित्व हुनुपर्छ । युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरी नेतृत्वदायी भूमिकामा काम गर्न दिनु आजको समयको माग हो ।

वास्तवमा युवा शक्ति कुनै पनि देशको राजनीतिक आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूहमा पर्दछ । युवा राष्ट्रिय विकासका प्रमुख मानवस्रोतसाधन भएकोले युवाको हरेक क्षेत्रमा सक्रिय संलग्नता नभइ देशको विकास असम्भव छ ।

यसैले राजनीतिमा सक्षम युवा पुस्ताले नेतृत्व लिन जरूरी छ । तर, युवा नेतृत्वमा पुग्नुअघि हाम्रा सामु केही महत्वपूर्ण प्रश्न खडा हुन्छन् ।  नेपाली राजनीतिमा युवाको संलग्नता कस्तो छ ? युवालाई राजनीतिक दलले पार्टीमा के कस्तो स्थान दिएका छन् ? नेपाली राजनीतिक दलहरू युवा नेतृत्वको लागि कति खुल्ला छन् ?

कतै राजनीतिक दलले युवा र महिलालाई राजनीतिक स्वार्थको लागि मात्र प्रयोग त गरिरहेका छैनन् ? राजनीतिक पार्टीमा युवाको नेतृत्वदायी भूमिकामा पहुँच बनाउन यी विषयमा छलफल गर्नु आवश्यक हुन्छ । नेपालमा प्रमुख, पुराना र स्थापित राजनीति दलहरूले युवालाई किशोर अवस्थादेखि नै पार्टीको भात्तृसंगठन जस्तैः विद्यार्थी संगठनमा आबद्ध गरेको देखिन्छ ।

विद्यार्थीलाई नेतृत्व तहको एउटा इशारामा बन्द, हडताल, विरोध, धर्ना,तोडफोड जस्ता आन्दोलनमा समावेश गर्दै आएको इतिहास छ । उनीहरूको शैक्षिक भविष्यको परवाह नै नगरी केबल राजनीतिक स्वार्थको लागि प्रयोग गरिएको दुःखद् सत्य हामी समक्ष छर्लङ्ग छ । विद्यार्थी संगठनलाई राजनीतिबाट टाढा राख्नु आवश्यक छ । तर, अधिकांश पार्टीले ज्ञान लिने दिने ठाउँलाई राजनीतिबाट टाढा राख्नु पर्दछ भन्ने सत्य मान्न बिल्कुलै तयार छैनन ।

विद्यार्थी आन्दोलनबिना कुनै पनि परिवर्तन सम्भव छैन भन्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने क्रम निरन्तर छ । खोल तो लौरो बिर्यो’ भनेझै दर्दनाक अवस्थामा युवा पुस्ता छन् । यस्तो जीवित इतिहासलाई हामीले मुकदर्शक भएर टुलुटुलु हेरिरहेका छौं ।

युवा अवस्थादेखि राजनीतिमा संलग्न भए पनि अहिलेको राजनीतिक परिपाटीमा नेतृत्व तहको जिम्मेवारी सम्हाल्न सक्षम हुँदाहुँदै एक सक्षम युवाले लामो लाइनमा प्रतीक्षा गर्नु पर्ने हुन्छ । त्यसरी लाईनमा उभिएका ४० वर्ष मुनिका राजनीतिज्ञले नेतृत्व गर्ने अवसर पाउने सम्भावना अत्यन्तै न्यून हुन्छ ।

युवा नेतृत्वका सन्दर्भमा अधिकांश पार्टीगत संरचनामा र राजनीतिक संस्कारमा नै समस्या देखिन्छ । पार्टीमा युवा नेता जन्माउने भन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप लगाइदिने चाकरी गर्ने जमात बनाउन बढी रुचि राखेको देखिन्छ ।

राजनीतिमा युवा अवस्थामा पदमा पुगेर योगदान गर्ने संरचना नै हामीले विकास गर्न सकेका छैनौं । युवा भएर नेतृत्व तहमा अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने वा धेरै स्रोत–साधन खर्च गर्न सक्नु पर्ने अवस्था छ ।

यो परिपाटीले गर्दा निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन् । हामी सजिलोसँग दाबी गर्न सक्छौं । हाम्रा पार्टीहरूको दलीय संरचना युवामैत्री छैन । युवाका बीचमा राजनीतिक बहस गराउने, राजनीतिक बिकृतिबारे युवाका बीचमा खुलेर छलफल गर्ने, आफ्नो पार्टीका नेताका गलत कामकाबारे खुलेर आलोचना गर्ने परीपटी बनाउनेजस्ता विषयमा ध्यान दिएको छैन ।

त्यसैले यस्तो सवालमा ध्यान नदिने हो भने राजनीतिमा युवालाई आकर्षित गर्ने त कुरा
छाडौं राजनीतिमा भएका सक्षम युवासमेत पलायन हुन बेर लाग्दैन । आइ हेटपोलिटिक्स’, ’पोलिटिक्स इज अ दर्टी गेम’ भन्ने सक्षम युवा जमातलाई राजनीतिमा आकर्षित गर्न निकै गाहो हुँदै गइरहेको छ ।

कुनै एकजना एसईई सकेको किशोरी वा किशोरलाई तिमी कुन क्षेत्रमा रहेर देशलाई योगदान दिन चाहन्छौ, के बन्छौ भनेर सोध्यौं भने डाक्टर, इन्जिनियर, पाइलट,बिजनेस पर्सन (व्यापारी) बन्छु भन्छन्, तर नेता बन्छु व्यक्ति भन्ने भेटिंदैनन् ।

कुनै एक शिक्षक, एक अभिभवकले समेत विद्यार्थीलाई नेता बन्न प्रेरित गर्दैनन्, यो निकै ठूलो समस्या हो । लामो समयदेखि राजनीतिक अस्थिरताले धेरै युवा नेपालमा केही हुँदैन भन्दै विदेश पालयन भइरहेका छन् ।

अन्य क्षेत्रमा केही गर्न नसक्ने कमजोर व्यक्तिले राजनीति गर्छन् भन्ने आमधारणा बनेको छ । पढेलेखेका, शिक्षित व्यक्ति राजनीतिमा लाग्नु हुँदैन बरु विभिन्न पेशामा संलग्न हुनुपर्छ भन्ने समाजको मान्यता अझै पनि छ । राजनीतिमा युवालाई निरुत्साहित गर्ने यस्ता धारणा एकदम दुखःद छन् ।

के देश चलाउने, समाजको नेतृत्व गर्ने, नीति–निर्माण गर्ने व्यक्ति पक्कै पनि शिक्षित, सक्षम र अब्बल हुनुपर्दैन त ? योग्य र सक्षम व्यक्ति राजनीतिमा नहोमिएसम्म देशको रूपान्तरण सम्भव देखिंदैन ।

पार्टीका विभिन्न तहका नेता आफ्नै सदस्यकै नजरमा सम्मानित नभएको कटु सत्यका बीचमा नेपाली राजनीति चलिरहेको छ । यहाँ अग्रपंक्तिका नेता नै सक्षम युवा आएर स्थान ओगट्ने हुन्कि भन्ने चिन्ता पालेर बसेका छन् ।

यो डर र त्रासबाट पाका नेताहरू मुक्त हुन जरुरी छ । यस्तो राजनीतिक माहौलमा राजनीतिक पार्टीमा युवा सहभागिता बृद्धि गर्न र नेतृत्वका निर्माणका लागि पार्टीले तत्काल केही महत्वपूर्ण कदम उठाउनु पर्ने देखिन्छ ।

राजनीतिमा संलग्न सक्षम युवाले पनि केही महत्वपूर्ण कुरामा चिन्तन गर्न जरुरी छ । गुट र उप–गुटको राजनीतिभन्दा माथि उठेर अघि बढ्ने हिम्मत गर्न सक्नुपर्छ । आफू पदमा पुग्दा राम्रो काम गर्नको लागि आफूलाई निखार्ने क्रमलाई निरन्तरता दिनुपर्छ ।

यसका साथै युवा नेतृत्वमाथि विश्वास गर्ने पाका नेताको साथ र सहयोगको लागि सँधै स्वागत गर्ने क्षमताको विकास गर्नुपर्छ । पुराना नेताको भोगाइ र अनुभवबाट सिक्न कन्जुस्याइँ गर्नु हुँदैन । परिवर्तन सम्भव छ र नेपालको रूपान्तरण आफ्नै पालोमा हुन्छ भन्ने सकारात्मक सोचलाई मर्न दिनु हुँदैन ।

संस्कृति, प्रकृति, जातीय विविधता, उच्च मन र असल संस्कारमा धनी देश नेपाल अहिले आर्थिकरूपले जर्जर अवस्थामा पुगेको छ । यस्तो अवस्थामा समृद्धि प्राप्ति निकै गाहो छ । यसका मुख्य कारणमध्ये चरम भष्ट्राचार भएको छ ।

यसको एउटा कारण राजनीतिक प्रणाली युवामैत्री हुन नसक्नु पनि हो । विश्व राजनीति र नेपालको राजनितिलाई तुलना गर्दा विश्वका अरु देश विकास हुनुको कारण नै युवा जनशक्ति हो । अलेक्जेन्डर द ग्रेट वा विश्व विजेता सिकन्दर ईशापूर्व ३३६ मा मेसेडोनियामा जन्मेर २० वर्षमा नै ग्रीकका राजा भएको इतिहासलाई पनि बिर्सनु हुँदैन ।

हामीले यो इतिहासलाई स्मरण गरिरहँदा नेपालको संविधानले नै युवालाई राजनीतिमा निरुत्साहित गरेको देखिन्छ । हाम्रो संविधानले राष्ट्रपति हुनको लागि कम्तिमा ४५ वर्षको उमेर तोकेको छ । राष्ट्रियसभामा प्रतिनिधित्वको लागि नेपाली नागरिक ३५ वर्षभन्दा कम हुनु हुँदैन भनिएको छ ।

२५ वर्ष नपुगेका व्यक्तिले प्रतिनिधिसभाका उम्मेदवार हुन पाउँदैन । यति मात्र होइन, २१ वर्ष भएका व्यक्तिले मात्र स्थानीय तहममा वडा अध्यक्ष हुने मिल्ने प्रावधान राखिएको छ । १८ वर्ष माथिका व्यक्तिलाई आफ्नो मतदान गरेर जनप्रतिनिधि चुन्ने अधिकार पाएपछि सोही उमेरको व्यक्तिले स्थानीय तहमा वडा अध्यक्ष हुन पाउने अधिकार समेत राख्दैन ।

यो कस्तो राजनीतिक स्वतन्त्रता हो ? युवा शक्ति, उर्जा अनि सिर्जनशीलताको जति गुणगान गाए पनि हाम्रो संविधाननै युवाविरोधी छ । यसो भएपछि युवाको नेतृत्वको बहस कति सार्थक हुन सक्छ ? मलाई अझै यस्तो अर्थपूर्ण बहस हुन्छ जस्तो लाग्दैन ।

बेलका–उदयपुर

हालः काठमाण्डाै

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *