प्रदेशी कलम ‘मेरो अनुभुति’

कल्याण वान्तावा (येलुङ हाँङ)
कलकलाउँदो उमेर र जवानीले सर्लक्कै छोडेर गयो। एउटा सपना बोकेर परदेशी भएँ। काम गर्दै जाँदा अरू पनि थुप्रै सपना हरू फुल्न थाले। एक्लो जीवन बल्लतल्ल विदेश जाँदा लिएको ऋण साहुहरूलाई तिरी सकेर ३ साल पछि आफ्नो जन्मभूमि छुट्टी निस्कियो। अनि मन मिल्ने मान्छे सित विवाह पनि गरियो। एकपछि अर्को हुँदै छोराछोरी पनि जन्मिए ।

झन् अर्को समस्यामा जेलिनुपर्ने रहेछ। त्यही सुखदुःख सित जुध्दा जुध्दै झन्डै आधा जिन्दगी त यसै यसै गुज्रिएछ। अझै पनि त्यो सपना… अहँ, खै पूरा नै हुन सकेन। अस्ति म यहाँ आउँदाको जस्तै बिहान सबेरै अलार्मको सहारामा जुरुक्क उठ्ने गर्छु । हतार(हतार भातभान्साको काम गर्छु। अनि सदा झैँ आफ्नो दैनिकी कम्पनीको काम तिर दौडिरहेको नै हुन्छु ।

निरन्तर गति उस्तै रहन्छ। एकै किसिमको निरन्तर दैनिकी छ। एकै प्रकृतिको काम गरिरहेको पनि डेढ दशक नाघी सक्यो। यसो पछाडि फर्केर सोच्ने गर्छु पुरै जवानी र जिन्दगी त यस्तै अनि यतै पो बित्न लागेछ। तर, एक मनले सोच्ने पनि गर्छु प्राणी मध्येको चेतनशील प्राणी भनेको नै मानव जाती हो भन्ने गरिन्छ। अब त्यसैलाई आधार मान्ने हो भने मैले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ।

जुन एक असल अभिभावकको मन भित्र मात्र त्यो खाले सोच बसेको हुन्छ। त्यसैले त अझै पनि यो ज्यानलाई अझै जवानी सम्झेर आफ्नो कर्तव्यको पालना गर्दैछु । अझै पनि उस्तै गति अनि त्यही निरन्तरता मै जीवन गुज्रेको छ । त्यही क्रम सँगै फेरि पनि घरतिर फर्कने बेला हुँदै गर्दा। ३/४ महिना पछि आफ्नो जन्मभूमि फर्किने बाचा आफ्नो परिवारजन आफन्तलाई दिई रहँदा रहँदै एक्कासि चाइनाको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको महामारीले आज विश्व नै चपक्कै ढाक्यो । लाखौँको सङ्ख्यामा मान्छेले यो रोगको कारण ज्यान पनि गुमाइसकेका छन् ।

लाखौँ मानिसहरू यो सङ्क्रमणसँग जुधिरहेका छन्। आफू बसेको ठाउँमा पनि दैनिक १०० जनाको हाराहारीमा कोरोनाका बिरामी भेटिइरहँदा अब खै के हुने हो ? भेट्न पाइन्छ पाइन्न ? जस्तो एक खाले चिन्ता पनि मनस्पटलमा घर बनाउन थाल्दो रहेछ। तरपनि घरमा सकुशल चाडै आउने बाचा छ। हवाई उडान खुल्ना साथ नेपाल टेक्न पाउँ। फेरि पनि पहिले जस्तै साना(साना काखे नानीहरूलाई डोर्याउदै हिँड्न पाउँ।

घाँसे पखेरीतिर नाम्लो बरियो बोकेर दाउरा घाँस गर्न पाउँ। त्यही उकाली(ओराली सितको मितेरी फेरि गाँस्न पाउँ। उकालीको बरपिपल मुनिको चौचैतारीमा बसेर आनन्द लिन पाउँ। यो बाचा अधुरो नहोस्, अपुरो नहोस्। अनगिन्ती आशाहरू साँची राखेर उजाड मरुभूमिमा जुग बिताउनु नेपालीको बाध्यता हो । आशा छ यो बाध्यताको अब चाडै अन्त्य होस् ।
-चौदन्डीगढी नपा–४ बसाहा– उदयपुर
हालः साउदी अरेबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *