पेस्तोलसहित एक जना पक्राउ

बेल्टार/असार ३। पेस्तोलसहित उदयपुरको त्रियुगा नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा–३ मोतिगडाका ५० वर्षीय प्रशुराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीकै कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरमा अवैध अतियार लुकाईछिपाई राखेको गोप्य सूचनाको आधारमा चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

(मेडइन युएसए) लेखिएको अटोमेटिक पेस्तोलसँगै पेस्तोलमा प्रयोग गरिने ५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

चौधरीको कान्छी छोरीले सप्तरी सुरुंगा नगरपालिका–८ का २३ वर्षीय बवी चौधरीबीच प्रेम सम्वन्ध रहेकोले चौधरीको घरमा आएको समयमा उक्त युवकलाई फसाउनको लागि प्रशुरामले नै सो हतियार राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ८ वटा चन्दा ठेली रसिद पनि फेला परेकोले चौधरी चन्दा असुलीमासमेत सक्रिय रहेको प्रहरीले जनाएको छ ।

उनीसँग नेकपा माओवादी केन्द्र लेखिएको सदस्यता पत्र तीन थान, अखिल नेपाल मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थानसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनी द्धन्दकालमा नेकपा माओवादीको लडाकु र त्यसपश्चात केन्द्रकै जिल्ला समितिको सदस्यसमेत रहेको खुल्न आएपनि हाल ०७७ फागुन ४ गतेबाट जनता समाजवादी पार्टीको जिल्ला सदस्य भएको खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *