नेपाली काङ्ग्रेस न बोतल फेर्न चाहन्छ, न त रक्सी

नेपाली समाज भित्रको अन्तरक्रिया, निरंतरता, र परिवर्तनको वास्तविक अवस्था र स्थिति कस्तो र कुन तहको छ भन्ने नाप्ने इकाईहरू मध्ये नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशन पनि एक हो । नेपाली समाजको वर्तमान अभ्यास र प्रयास भनेको पुरानो रक्सीलाई नयाँ बोतलमा परिवर्तन मात्र गरिएको पाईन्छ । नेतृत्व फेरियो तर नियत फेरिएको देखिदैन । यही घातक प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई पनि सिकार बनाउने छ अर्थात यसपल्ट पनि न नेतृत्व फेनेर्छन् न त नियत फेरिनेछ ।

नेपाली समाजमा शब्दले बोकेको मर्म र भावनामा देखिएको वैद्यताको संकट कै कारण नेतृत्वको निरंतरता र परिवर्तनलाई मात्र राजनीति मान्ने साथै पद, प्रतिष्ठा र शक्ति हत्याउने खेललाई केन्द्र मान्ने प्रवृत्तिले दक्षिण एसियामा मात्र नभई विश्वमै बदनाम बनेको छ नेपाल राज्यको राजनीतिक अभ्यास । विश्व समाजले मानेको र बुझेको राजनीति भनेको त विश्व समाजमा वा समाजमा रहेको असमानता न्यूनिकरण गर्दै समानता हुदै समतामूलक समाज निर्माण गर्ने प्रक्रियामा  विशुद्ध मन, वचन र कर्मका साथ सहभागी भई अभ्यास गर्नु लाई मानिन्छ ।
राजनीति भनेको समाजमा रहेको वर्गीय असमानता र सांस्कृतिक मुद्दाहरू, लौङ्गिक विभेद, रंगभेद, छुवाछूत लगायत ले सृजना गरेका बेथिति एवं अन्याय घटाउन र अविकासको समाधान गर्न साथै नागरिक संग जोडिएको गुणस्तर जीवन एवं जीवन प्रति उच्च आशा एवं न्याय स्थापित र संस्थागत गर्न वा सकारात्मक खुशीको अभिवृद्धि गर्नको खातिर अख्तियार प्राप्त गर्न त्यस प्रक्रियामा सहभागी हुनु हो । तर नेपाली राजनीतिको अभ्यास ठिक बिपरित पाउन सकिन्छ । नेपालमा भएको राजनैतिक अभ्यासले सामाजिक-अार्थिक स्तरमा भएको असमानता घटाउने भन्दा दिनप्रतिदिन अझ बढाएर लगिरहेको पाउन सकिन्छ । अर्थात जनतामा भएको गरिबी र असमानताको खाडल अझ बढाईरहेको छ जो स्पष्ट छ ।
नेपाली समाज भित्र भएको विविधता एवं जटिलता र त्यसले सृजना गरेका सामाजिक असमानताका मुद्दाहरू बोकेर त्यसको न्यूनिकरण गर्ने प्रयास र अभ्यासमा अलिकति पनि आबद्धता नभएकाहरू नेपालमा त्यस्ताले आफुले आफैलााई नेता मान्ने र त्यस्तैलाई पद, प्रतिष्ठा, शक्ति र अख्तियारमा  पुग्ने र पुर्याउने तिकडमले भरिएको नैतिकहीन अभ्यासलाई राजनीति मान्नुले नेपाली समाज आफु आफै विश्व समाज र राज्यहरूको तुलनामा पछिपरिरहेको पाउन सकिन्छ ।
दिनदिनै नजिकिँदै गरेको ऐ १४अौं अधिवेशनमा पनि केही नयाँ नहुन सक्छ, किनकी नेपाली समाजले केही नयाँ र न्याय सोचन सकिरहेको पाउन सकिदैन । नेपाली समाजले सामाजिकीकरणमा व्यवहारिकता, वैज्ञानिकता र न्याय हस्तान्तरण गर्ने कुनै नयाँ संस्कृतिको पुनःनिर्माण गर्ने प्रयास गरिरहेको देखिन्छ तर त्यसमा वास्तविकता छैन । नेपाली समाजमा न्याय र समता नचाहने ठगिखाने, ढाँटीखाने ढोङ्गी कम्युनिष्ट र प्रजातान्त्रको नाममा नेपाली काङ्ग्रेसको ओतमा बसेका हिन्दु पितृसत्ताअतिवादी घातक छन् । ढोङ्गी कम्युनिष्ट र देखावटी काङ्ग्रेस दुवै खतर्नाक छन् नेपाली समाजको सकारात्मक रूपान्तरण र परिवर्तनका लागि । यस्ता प्रवृत्ति बाट नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनलाई बचाउन सक्ने सम्भावना न्यायप्रेमी प्रजातान्त्रिक स्वयंसेवकले प्रयास गर्नेमा कुनै कमिकमजोरी नछोडौं ।
नेपाली काङ्ग्रेस साथै नेपालका यस्ता अन्य राजनैतिक दलहरू एवं संघसंस्थाहरू बोतल फेर्ने दलाली संस्था मात्र भएको छ । तर रक्सी नै फेर्ने क्षमता राख्ने सर्वेसर्वा भनेको निर्विकल्प नेपाली समाज नै हो । अर्थात नेपाली समाजले मात्र त्यस्ता नयाँ र न्यायको मन, वचन र कर्म भएको नेतृत्व र नियत फेर्न सक्छ र त्यो तब सम्भव छ जब नेपाली समाज आफैले सुक्ष्म र वृहत संरचनामा भएको विकृत संस्कृतिको पुनःजागरण गर्दै ऐ लाई सामाजिकिकरण गर्ने छ ।
नेपाली काङ्ग्रेसको यहि महाधिवेशन ले दिएको समग्र नतिजाले नेपाली समाजको वास्तविक चरित्र उदाङ्गीने छ । नेपाली काङ्ग्रेस ऐ समाजको ऐना हो, जस्तो समाजको रूप र नियत छ त्यस्तै आकृती र परिणाम देखाउनेछ । नेपाली समाज ऐला र कुलिन्चा फेर्न तैयार छैन भने नेपाली काङ्ग्रेस पनि नेतृत्व र नियत फेर्न तैयार रहनेछैन । के नेपाली काङ्ग्रेस रक्सी र बोतल फेर्न तैयार छ होला त !
                                                                       -भुवनमान श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *