निषेधाज्ञा अरु पाँच दिन थप्ने निर्णय

गढीखबर,
बेल्टार/भदौ ६। भदौ ७ सम्म जारी गरिएको निषेधाज्ञा अरु पाँच दिन थप गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयले आगामी १२ गतेसम्म थप गर्ने निर्णय भएको हो ।

बैठकले त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा भदौ १२ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी गरिएको छ । साउन २८ गते राती १२ बजेबाट जारी भएको निषेधाज्ञा भदौ ७ गते राती १२ बजे सकिने थिायो । निषेधाज्ञाको समय सिमा थप भएकोले ३ पालिकामा संक्रमण कम हुने आंकलन गरिएको छ ।

समुदाय स्तरमा समेत फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणमा आईनसकेको निषकर्ष निकाल्दै समितिले पाँच दिन थप गर्न सिफारिस गरेका हो ।

निषेधाज्ञामा यसअघि अवलम्वन गरिएका नियमहरु पुर्णरुपमा पालन हुने गरी बैठकले निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।

निषेधाज्ञाको समयमा जिल्लाको हकमा भने बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोलिने छन् भने चौदण्डीगढीको हकमा विहान ७ बजे देखि ९ बजे सम्म खुल्ने र पुनः ९ बजेदेखि दिउँसो ३ सम्म बन्द भएर दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको छ ।

अन्य समयमा बन्दलाई निरन्तरता दिईने छ । निषेधाज्ञामा भने सरकारले सुचिकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दुधका पसल र सवारी भने निरन्तर रहने उनले बताए । जिल्लाभरमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संख्या अझै बढ्न सक्ने अवश्था देखिएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पाण्डेले बताए । छिमेकी जिल्ला सिरहा, सप्तरी र सुनसरी जिल्लामा संक्रमण र संक्रमितको निधन हुनेको संख्या बढ्दै गएकाले पनि निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवश्था आएको उनको भनाई छ ।

प्रजिअ पाण्डेले भने, ‘समुदायमा फैलिएको कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने देखिएकाले कडाई गर्नु परेको हो ।’ प्रशासनले दमकल, एम्बुलेन्स, शव बाहन, दूध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *