धरान उपमहानगरको मेयरमा हर्कराज साम्पाङ विजयी

धरान/जेठ ८। सामाजिक अभियन्ता हर्कराज साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका राई राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् ।

निर्वाचित राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरेका छन् भने विजयी राईले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरिन् । धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् ।

उनले २० हजार ५ सय १० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत प्राप्त गरे ।

विजयी राईले खानेपानीको समस्यालाई मुख्य मुद्धा बनाएर अभियानमा निरन्तर लागिरहने एक सामाजिक व्यक्तित्व हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *