कामकुरो एकातिर, कुम्लो बोकी ठिमी तिर

माटो भन्दा ढुङ्गा बढी भएको पाखामा कोदो फलाउने किराँत सभ्यताको प्रतिनिधित्व गर्ने समुदाय पनि राष्ट्र हो । पानीलाई माटो मान्दै नदिमा खेती गर्ने ति माझी समुदाय पनि राष्ट्र हुन् । नेपाललाई नेपाल बनाउन त्यो औलो जित्ने र तातो घाममा आफु डढेर तराईका फाँटलाई आवासिय क्षेत्र बनाउने थारू पनि राष्ट्र हुन्। आलु मात्र खाएर जडिबुटी उपलब्ध गराउने हिमाली विकट क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक भनेर हामीले सूचिकृत गरेको शेर्पा पनि राष्ट्र हुन्। आफैमा राष्ट्रियता हो ।

ठुलो आवाजले बोल्न सक्ने, मनोमानी ढङ्गले प्रमाण र तर्क पेश गर्न सक्ने, ठग्न जान्ने, राजनीतिक हत्कण्डा मचाउन सक्ने, सडक र सदनमा उफ्रिनु सक्ने, यस्तै यस्तै व्यक्तिको व्यवहारले राष्ट्र र राष्ट्रियताको वास्तविक अर्थ र उपस्थिति ओझेलमा परेजस्तो देखिन्छ । के राष्ट्रको परिधिभित्र पर्न यस्तै हर्कत गर्नु पर्ने हो र ! त्यस्ता जात, जाति पनि राष्ट्र हुन् र ति आफैमा राष्ट्रियता हो । नेपाल एक राज्य हो भन्नका लागि तिनैको अस्तित्वको प्रमाण पेश गर्नु पर्दछ तर ति विविध जात, जाति राष्ट्र हुन् र राष्ट्रियता हो भनेर कुनै प्रमाण देखाउनु पर्दैन । यो देशका हरेक नागरिक, समुदाय राष्ट्र पनि हुन् र राष्ट्रियता पनि हो । राज्यले राष्ट्र (व्यक्ति तथा समुदाय) खोज्जे हो न की राज्यलाई राष्ट्रले । नेपाल राजनीति भूगोल हो भने नेपाली नागरिकता हो, त्यस्तै राष्ट्र र राष्ट्रियताको मूल मर्म र भावना विषय विज्ञहरू बाट सुन्न पाईन्छ । यि सामान्य कुरा हुन् र सबैले अनिवार्य बुझ्नु पर्ने कुरा हो ।

नेपाली समाजले अनौपचारिक रूपमा यसको भाव अर्थ कसरी लगाईरहेको छ त ! राजनीतिक सिमानाको भूभागलाई मात्र राष्ट्र मान्ने संकुचित भावले नेपाल देश भित्रको विविध जात, जाति, भाष, धर्म, संस्कार, संस्कृति, बोकेका हरेक समुदाय पनि राष्ट्र हुन् र नेपाली राष्ट्रियता पनि हुन्, चाहे त्यो पृथ्वीको जुनसुकै कुनामा अभ्यास भईरहेको किन नहोस् ! पवित्र राष्ट्रवादी ति हुन् जसले जसले यहाँको जमिनलाई रगत पसिना ले सिँचेर जीवनकालागि अत्यावश्यक खाद्यान्न वस्तु उत्पादन गर्दैछन् र विदेशमा विभिन्न दुःख कष्ट सहेर रेमिटेन्स भित्र्याउछन् ।

यहाँ त राजनीतिक भूभागको सिमानाको सुनियोजित काण्डमा हरकत गर्ने, कराउने, उफ्रिने, केरमेट गर्ने साथै उद्योगमा अखाद्य वस्तु उत्पादन गरि आम नागरिकको स्वास्थ र जीवन संग खेलवाड गर्ने वा सेवाको घण्टी बजनउदै नाफाको नाममा ठगि गरेर राज्यलाई कम कर तिर्ने र राज्यको कर छलिगर्ने वा गर्न मद्दत गर्नेहरू राष्ट्रवादी, राष्ट्रप्रेमी, र राष्ट्र कहलिन्छन् । जब कि यस्तो मात्र अभ्यास ले कसै अरूलाई विभेदमा र सिमान्तकृत पार्न खोजिरहेको जस्तो देखिन्छ ।

कामकुरा जता हो त्यतै जाने र शब्दले जे भावअर्थ र मर्म बोकेको छ त्यही बुझ्न र बुझाउने संस्कृतिको विकास गरौं । राष्ट्र, राष्ट्रियता, राष्ट्रप्रेम र राष्ट्रवादको पवित्र र वृहत अर्थको वास्तविक परिभाषा र अर्थ खोज्ने हैन अब ! ढोङ्गी राष्ट्रवादीहरूले र सामाजिक सद्भाव र राष्ट्रिय एकताका भाँडहरूले समाजमा रहेको हरेक विषय र परिस्थितिको अर्थको अनर्थ लगाउने कार्यले समाजमा अव्यवहारिक संस्कृतिको निर्माण हुदैछ भन्ने भुलिरहेको पाईन्छ , जसले कुनै कुरामा कसैलाई, कहिलेपनि फाईदा हुदैन ।
–भुवनमान श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *