कांग्रेसको वडा अधिवेशन स्थगित

काठमाण्डौ/साउन ९। नेपाली कांग्रेसको साउन १२ देखि हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरिएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज (शनिबार) बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएको छ ।

बैठकमा साउन १२ गते शुरु हुने भनेर निर्धारण गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने सल्लाह परामर्श भएको छ । वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गतेदेखि हुने महाधिवेशन पनि स्थगन भन्ने होइन ।

महाधिवेशन र अन्य तहका अधिवेशन कायमै छन् प्रवक्ता शर्माले भने । वडाको अधिवेशन स्थगित गर्नुको कारण भने जिल्लाहरूमा कोरोना संक्रमण बढ्नु रहेको प्रवक्ता शर्माले जनाएको छ ।

केही जिल्ल्लाबाट कोरोनाको संक्रमण बढिरहेको र कतिपय ठाउँहरूमा समस्या रहेको भनेर पार्टी केन्द्रीय कार्यालयमा गुनासो आइरहेको उनले जानकारी दिए ।

वडा अधिवेशनको अर्को मिति भने क्रियाशील सदस्यता छानबिनको विवाद समाधान भएपछि तय हुने शर्माले जनाएको छ ।

साउन १२ गते मंगलबार बिहान ९ गते क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्ने भएको बुझिएको छ । प्रतिवेदन लिइसकेपछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित हुने बताइएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांस ठाउँमा सर्वसम्मतिले क्रियाशील सदस्यता चयन गरिएको बैठकमा जानकारी दिएको छ ।

केही जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद कायमै रहेको र त्यो विवादबारे १२ गतेभित्र टुंगोमा पुग्ने तयारी रहेको उनले जानकारी दिए ।

सदस्यता छानबिन समितिले प्रतिवेदन दिएपछि केन्द्रीय समितिले टुंगो लगाउने र प्रभावित हुने अधिवेशनका मितिबारे निर्णय लिइने जानकारी दिइएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय भएको छ । वडा अधिवेशन आउन ३ दिन पहिला स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *